नेपालगन्ज, श्रावण २२ - रुकुमकी एक १८ वर्षीया किशोरी बसभित्रै सामूहिक बलात्कारमा परेकी छन्। बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेका हुन्। घटनापछि फरार रहेका दुवैलाई प्रहरीले दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ।
पक्राउ परेकामा दाङको तुलसीपुर-९ का स्याने भनिने सुमन बीसी र दैलेखको नारायण नपा-८ का चंखे भनिने अजीव सुनार छन्। जिल्ला प्रहरी बाँकेका डीएसपी सुशीलसिंह राठौरका अनुसार बीसी ना४ख ५१६७ नम्बरको बसका सहचालक हुन्। पीडित किशोरी सोही बसमा रुकुमबाट बाँकेको शमशेरगन्जस्थित मामाघर आउँदै थिइन्। बीसीले उनको मोबाइल र झोला कब्जामा लिएर गन्तव्यमा र्झन नदिई सँगै आउन बाध्य पारेको प्रहरीले जनाएको छ। नेपालगन्ज-५ स्थित बसपार्कमा ल्याएर उनीमाथि सामूहिक बलात्कार गरेको पीडितले दिएको प्रारम्भिक बयानमा उल्लेख छ। बसपार्कमा सबै यात्रु उत्रिएपछि बीसी र सोही बसमा बाटोबाट चढेका अर्का बसका चालक सुनारले बलात्कार गरेको पीडितले बताएकी छन्। घटनापछि युवतीले बसपार्कस्थित अस्थायी प्रहरी बिटमा खबर गरेकी थिइन्।
अभियुक्त सुनार ना३ख ८७१३ नम्बरको बसका चालक हुन्। उनी बाटोबाट ना४ख ५१६७ नम्बरको बसमा चढेका थिए। बाटोमा हुँदै दुवैले योजना बनाएर किशोरीलाई बसपार्क पुग्न बाध्य पारेको देखिएको प्रहरीले जनाएको छ। 'यात्रु उत्रेपछि चालक घर गएको देखियो। त्यसपछि बसभित्र रहेका बीसी र सुनारले पालैपालो बलात्कार गरेको बयान पीडितले दिएकी छन्,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।
पीडित किशोरी रुकुमबाट मंगलबार दिउँसो ३ बजे रात्रि सेवाको उक्त बसमा चढेकी थिइन्। सामान्यतया रात्रि बस बिहान उज्यालोमा नेपालगन्ज आइपुग्ने भए पनि बाटामा नरोकी डेढ घन्टाअघि नै आइपुगेकाले पूर्वयोजनाअनुरूप घटना भएको हुन सक्ने आशंका प्रहरीको छ। नेपालगन्जभन्दा करिब ६ किलोमिटर उत्तरमै पीडित किशोरीको मामाघर पर्छ। घटनामा अन्यको संलग्नता वा सहयोगी भूमिकाबारे अनुसन्धान केन्दि्रत गरिएको प्रहरीले जनाएको छ। पीडित किशोरीको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
Comments[ 0 ]
Post a Comment